अपाङ्गताको सवालमा विद्यार्थीलाई अभिमुखीकरण

भिजन समाचार
114
Shares

ओखलढुंगामा अपाङ्गता भएका व्यक्तिका हकअधिकार तथा अपाङ्गताको सवालमा विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ । समुदायमा आधारित समावेशी विकास परियोजना (सिबिआइडी) र ओखलढुंगा सामुदायिक अस्पतालको आयोजनामा तथा सिद्धिचरण नगरपालिकाको समन्वयमा जिल्ला सदरमुकामका तीन विद्यालयका विद्यार्थीलाई जनचेतना प्रदान गरिएको हो ।

सगरमाथा जनता माध्यमिक विद्यालय, लालीगुराँस इङ्लिस स्कुल र शुभतारा इङ्लिस स्कुलका छात्र–छात्रालाई सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा परियोजनाका टिम लिडर सुरेश मगरले अपाङ्गता भएका व्यक्तिका अधिकार, राज्यबाट उपलब्ध सेवा–सुविधा, सकारात्मक व्यवहार, सहयोग र सम्मानजनक सम्बोधनका विषयमा जानकारी गराएका थिए ।

अभिमुखीकरणका क्रममा उनले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द र व्यवहारले पीडा दिन सक्ने भएकाले कानुनले तोकेअनुसार विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागी सगरमाथा जनता माविकी छात्रा, लालीगुराँस इङ्लिस स्कुलका छात्र प्रशन्न काफ्ले र शुभतारा इङ्लिस स्कुलकी छात्रा निहारिका धमलाले अपाङ्गताको सवालमा धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको बताए । सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै विद्यालय र समुदायमा पनि जानकारी फैलाउने उनीहरूको भनाइ थियो ।

विद्यार्थीलाई सचेत गराउँदा समुदायमा समेत सकारात्मक सन्देश जाने र अपाङ्गता भएका व्यक्तिका हकअधिकार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सिद्धिचरण नगरपालिका कार्यपालिका सदस्य अप्सरा कार्कीले कार्यक्रम फलदायी भएको बताइन् । कार्यक्रममा विद्यार्थीका साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।