ओखलढुंगाको मोलीमा सम्पन्न अन्तरपालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको छैटौँ संस्करणमा चम्पादेवी गाउँपालिका पलापुले उपाधि हात पारेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा पलापुले सिद्धिचरण नगरपालिकालाई ३–१ को सोझो सेटमा पराजित गर्दै लगातार छैटौँ पटक च्याम्पियन बन्न सफल भयो ।
खेल संयोजक दिपेन्द्र रुम्दालीका अनुसार प्रतियोगितामा मोलुङ गाउँपालिका र लिखु गाउँपालिका सेमिफाइनलिस्ट बनेका छन् ।
विजेता टोलीलाई नगद एक लाख ५१ हजार १५१, शिल्ड, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।
उप–विजेताले ७५ हजार ७५ सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाए ।
यस्तै, सेमिफाइनलिस्ट दुई टोलीलाई जनही २० हजार २० सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजक मोली सेवा समाज मानेभन्ज्याङ–१ मोलीले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर र लिब्रोलाई जनही पाँच हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सिद्धिचरण नगरपालिका, मोलुङ, खिजिदेम्बा, लिखु, मानेभन्ज्याङ, चिशंखुगढी, चम्पादेवी गाउँपालिका, नेपाली सेनाको दुर्गा बक्स गण तथा खोटाङको ऐसेलुखर्क गाउँपालिकासहित ९ टिमको सहभागिता थियो ।
मंसिर २३ देखि २६ गतेसम्म खेल लिगकम नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया