साइबर अपराध र लागूऔषध दुर्व्यसनबाट बच्न विद्यार्थीलाई सचेतना

भिजन समाचार
78
Shares

ओखलढुंगा सदरमुकाममा विद्यार्थीलाई साइबर अपराध तथा लागूऔषध दुर्व्यसनबारे सचेत गराउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको छ । सिद्धिचरण नगरपालिका–१२ स्थित एक विद्यालयमा आयोजित कार्यक्रममा दुवै विषयका जोखिम र नियन्त्रण उपायबारे विस्तृत जानकारी प्रदान गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईटेलले सूचना प्रविधिको दुरुपयोगबाट बन्न सक्ने जोखिम, सामाजिक सञ्जालमार्फत बढिरहेका साइबर अपराधका स्वरूप तथा युवामाझ व्यापक हुँदै गएको लागूऔषध दुर्व्यसनका कारणबारे प्रस्तुति दिए । उनले गाउँ–गाउँमा नयाँ प्रकारका अपराध बढ्दो भएको बताउँदै विद्यालयमै विशेष कक्षा सञ्चालन गरेर विद्यार्थीलाई सशक्त बनाउन तथा उनीहरू मार्फत समुदायमा समेत सचेतना फैलाउने उद्देश्य रहेको बताए ।

सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदार बाबु बस्नेतका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई आफैँ सुरक्षित रहन मद्दत गर्नुका साथै परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रमलाई वर्षभरि नै प्राथमिकतामा राख्दै आएको उनले उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिमा यस किसिमका कार्यक्रम प्रभावकारी भएको बताउँदै समुदायमै सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ओखलढुंगामा पहिलो पटक साइबर क्राइम तथा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । प्रहरी तथ्यांकअनुसार चार महिनाको अवधिमा मात्र साइबर अपराधसम्बन्धी २१ वटा उजुरी दर्ता भएको छ ।