विद्यार्थीको सिर्जनशीलता बढाउन शिवदूति माविमा साहित्यिक कार्यक्रम

भिजन समाचार
6
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चास्थित शिवदूति माध्यमिक विद्यालयमा विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । कविता वाचन मार्फत विद्यार्थीको रुचि, क्षमता र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक रामकुमार ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा देशभरिका प्रतिष्ठित साहित्यकारहरूको सहभागिता उल्लेखनीय रह्यो । प्रमुख अतिथि नरनाथ लुइटेल, विशिष्ट अतिथि डा. बभव थापा, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, व्यङ्ग्य कवि कुलप्रसाद दाहाल, व्यङ्ग्य कवि डिल्लिप्रसाद दाहाल (मुलतिहुन), रमेश दाहाल ‘गाउले’ तथा मणिराम दाहालले आफ्ना मौलिक कविता प्रस्तुत गर्दै विद्यार्थीलाई साहित्यिक सृजनातर्फ आकर्षित बनाएका थिए ।

कार्यक्रममा तीन विद्यालय—शिवदूति मावि (मोलुङ–५ प्राप्चा), जीवन प्रदीप मावि (मोलुङ–४ हर्कपुर) र कालिका मावि (मोलुङ–६ भालुथुम्का) का छात्रछात्रा तथा शिक्षकहरूले समेत कविता वाचन गरेका थिए । विद्यार्थीको लुकेको साहित्यिक प्रतिभा उजागर भएको प्रअ ढकालले बताए ।