ओखलढुंगामा विद्युतीय गाडी (इभी) को प्रयोग तीव्र रूपमा बढेसँगै यातायात भाडा स्वतः घट्न थालेको छ । इन्धन खर्च न्यून हुने भएकाले व्यवसायीले सस्तो दरमा सेवा दिन थालेपछि यात्रुहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
सिद्धिचरण नगरपालिका–१२ का राजकुमार श्रेष्ठ काठमाण्डौ लगायतका दूरी धेरै हुने यात्राका लागि इभीलाई पहिलो विकल्प बनाउँदै आएका छन् । बस बाहेकका अन्य सवारी साधनले काठमाण्डौसम्म एक हजार पाँच सय रुपैयाँ वा त्योभन्दा बढी लिने गरे पनि आफूले इभीमार्फत बढीमा एक हजार तीन सयमै यात्रा गर्न पाएको उनले बताए ।
ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ खनालका अनुसार जिल्लामा अहिले दर्जनभन्दा बढी इभी सञ्चालनमा छन् । पछिल्ला वर्षमा इभीप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको उनको भनाइ छ ।
करिब चार वर्षदेखि इभी सञ्चालन गर्दै आएका ओखलढुंगा यातायात प्रालिका सदस्य बाबु श्रेष्ठका अनुसार इन्धन लागत कम हुनु, यात्रुलाई सस्तो भाडाको सुविधा मिल्नु र वातावरणमैत्री हुनु इभी लोकप्रिय हुनुका मुख्य कारण हुन् । उनका अनुसार सदरमुकाम देखि मानेभन्ज्याङ लगायत ग्रामीण क्षेत्रमा समेत इभीको सेवा विस्तार हुँदै गएको छ ।
तर, चार्जिङ स्टेशनको पर्याप्त व्यवस्था नहुँदा चुनौती कायम रहेको व्यवसायीहरूले बताएका छन् । हाल जिल्लामा तीन स्थानमा मात्र चार्जिङ सुविधा उपलब्ध छ । विद्युत् आपूर्ति तथा भोल्टेज सम्बन्धी समस्या समाधान गरिए इभी सेवा झनै भरपर्दो र प्रभावकारी हुने व्यवसायीहरूको सुझाव छ ।

प्रतिक्रिया