ओखलढुंगामा १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान सुरु

भिजन समाचार
74
Shares

ओखलढुंगामा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सहित १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान सुरु गरिएको छ । मंगलबार सिद्धिचरण नगरपालिकासहित जिल्लाभर जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै अभियानको थालनी गरिएको हो ।

सिद्धिचरण नगरपालिकामा अपांगता भएका व्यक्तिलाई मानसिक स्वास्थ्यबारे सचेतना प्रदान गर्दै कार्यक्रम सुरु गरिएको छ । लैङ्गिक हिंसा न्यूनिकरणका लागि परिवार, विद्यालय, स्थानीय तह र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको महिला तथा बालबालिका शाखाकी सरिता तामाङले बताइन् । लैङ्गिक हिंसा न्युनकिरणका लागि विद्यार्थी लक्षित कार्यक्रम गर्ने नगरपालिकाको योजना छ ।

कार्यक्रममा युएनएफपीएका जिल्ला संयोजक रेखा श्रेष्ठले मानसिक स्वास्थ्य र पारिवारिक सहयोगको महत्वबारे जानकारी दिइन् । अभियानअन्तर्गत मनोसामाजिक समस्या, मानसिक रोग पहिचान र उपचारबारे पनि अभिमुखीकरण गरिएको थियो ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्ने नगरपालिका र अन्य स्थानीय तहले जनाएको छ । सुनकोशी, लिखु गाउँपालिकाका साथै जिल्ला प्रहरीले पनि दिवसको अवसरमा विद्यालयमा सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।