चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा ओखलढुंगामा राहदानी बनाउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । जिल्ला प्रशासन कार्यालयका तथ्यांकअनुसार यस अवधिमा ७५२ वटा राहदानी जारी गरिएका छन् भने ४९३ वटा वितरण भएका छन् ।
रोजगारी, अध्ययन, वैदेशिक आवागमन तथा पारिवारिक कारणले राहदानी सेवाको माग वृद्धि भएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । अरु केही जिल्लामा केन्द्रमा राहदानी अभाव र वितरण ढिलाइका घटना देखिए पनि ओखलढुंगामा भने त्यसको प्रत्यक्ष प्रभाव नपरेको नायब सुब्बा दिपककुमार घिमिरेले बताए ।
उनका अनुसार राहदानी छपाइ, आपूर्ति तथा वितरण प्रक्रियामा केन्द्रबाटै नियमितता कायम रहेकाले जिल्लामा सेवा अवरुद्ध भएको छैन । सेवाग्राहीले निवेदन दिएको अधिकांश राहदानी समयमै उपलब्ध भइरहेको उनले बताए ।
कार्यालयले राहदानी वितरण प्रक्रिया अझ सुदृढ बनाउन सेवाग्राहीलाई राहदानी तयार भएपछि समयमा आएर लिन, अनावश्यक ढिलाइ नगर्न तथा प्रमाणिक कागजात तयारीमा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया