काठमाडौँमा सम्पन्न म्याचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजना गरिएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल खेलमा इलिक्सर एकेडेमी (इलिक्सर स्पोट्र्स क्लब), कुमारीगाल चाबहिलले यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै छात्र समूहतर्फ प्रथम स्थान हासिल गरेको छ । मंसिर ३ गतेदेखि ६ गतेसम्म एडभान्स बोर्डिङ स्कुल, कालोपुलमा चलेको प्रतियोगितामा १६ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता थियो ।
छात्र तथा छात्रा गरी ३२ समूहबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा छात्र समूहतर्फ इलिक्सर एकेडेमीले उपाधि हात पार्दै माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको यो वर्षको ट्रफी जित्यो । यस्तै, छात्रातर्फको तेस्रो स्थानमा पनि इलिक्सर एकेडेमी (इलिक्सर स्पोट्र्स क्लब) नै रहन सफल भयो ।
प्रतियोगितामा छात्र समूहतर्फ इलिक्सर एकेडेमीका शुसांख थापाले ‘बेस्ट सेटर’ र कप्तान हृदय अधिकारीले ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गरे । छात्रा समूहतर्फ ‘बेस्ट ब्लकर’ इलिक्सर एकेडेमीक अनुस्का राई घोषित भइन् ।
हरेक वर्ष आयोजना हुने यस प्रतियोगितामा इलिक्सर एकेडेमीले गत वर्ष २०८१ सालमा पनि प्रथम स्थान हासिल गर्दै ट्रफी जितेको थियो । विद्यालयका प्रिन्सिपल तथा इलिक्सर स्पोट्र्स क्लबका अध्यक्ष रबिन दाहालले निरन्तर सफलताले विद्यार्थीहरूको लगन, मेहनत र प्रशिक्षकहरूको योगदान प्रमाणित भएको बताए ।
इलिक्सर स्पोट्र्स क्लबका भलिबल प्रमुख प्रशिक्षक अबिन गुरुङका अनुसार टिमवर्क, नियमित प्रशिक्षण र खेलप्रतिको समर्पण नै जितको आधार रह्यो ।

प्रतिक्रिया