कोशी प्रदेशस्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा ओखलढुंगाकी रोस्नी राई प्रथम भएकी छन् । मङ्सिर १ गते सार्वजनिक नतिजा अनुसार ओखलढुंगाको सगरमाथा जनता माध्यमिक विद्यालयकी छात्रा राईले पहिलो स्थान हासिल गरेकी हुन् ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय बालदिवसको अवसरमा १८ वर्ष मुनिका बालबालिकामाझ ‘बालबालिकामा उत्पन्न हुने बालविवाह अन्त्यका लागि बालबालिकाको भूमिका’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको थियो । सहभागी निबन्धहरूको मूल्यांकनपछि प्रकाशित नतिजामा राईले ४१.५६ अंक हासिल गरी प्रदेशभरि नै प्रथम बन्न सफल भएकी हुन् ।
विद्यालयका शिक्षक तथा सूचना अधिकारी टायेन्द्र श्रेष्ठका अनुसार, राईले प्रथम पुरस्कार अन्तर्गत नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यस्तै प्रतियोगितामा मनकामना मावि मानेभञ्ज्याङ–२ वाक्सा ओखलढुंगाकी शिक्षा अधिकारी द्वितीय र बुढानिलकण्ठ मावि, विराटनगरका सरस अधिकारी तृतीय भएका छन् ।
विजेता विद्यार्थीहरूलाई कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि सिर्जनात्मकता र सक्रिय भूमिकासहित अघि बढ्न शुभकामना दिएका छन् ।

प्रतिक्रिया