निःशुल्क सेवाबारे प्रशासनले तोक्यो ‘फोकल पर्सन’

भिजन समाचार
42
Shares

जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले निःशुल्क सेवाका लागि सम्पर्क कर्मचारी तोकेको छ । सेवाग्राहीलाई सेवा लिन सहजताको लागि प्रशासनले सम्पर्क कर्मचारी तोकेको हो ।

नागरिक सहायता कक्षलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई कागजातका फोटोकपी, स्क्यान, इमेल वा प्रिन्टजस्ता सुविधा सम्बन्धित कार्यालयबाटै उपलब्ध गराउन सुरु गरेको छ । प्रशासनले सेवाग्राहीलाई सबै प्रकारका निवेदन निःशुल्क लेख्नका लागि कुमारी बस्नेतबाट सहयोग लिन भनेको छ ।

यस्तै राष्ट्रिय परिचय पत्रको आवेदन फारम परिचयपत्र शाखामा बोध कुमारी मगर, राहदानी फारम राहदानी शाखामा भुवन कुमार श्रेष्ठ र फोटोकपी, प्रिन्ट र स्क्यान लगायतको सेवा निःशुल्क लिन प्रशासन शाखामा दिप कुमार घिमिरेबाट सेवा लिन सकिने जिल्ला प्रशासन कार्यालय ओखलढुंगा प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी अनुप पौडेलले जानकारी दिए ।

नागरिक सहायता कक्षलाई सुदृढ बनाउँदा सेवाग्राहीले बाहिरका पसल वा साइबर जानु नपर्ने, र एकै ठाउँबाट सबै आवश्यक प्रक्रिया पूरा गर्न सक्ने भएकाले सेवाग्राहीको सहजताका लागि प्रशासनबाटै यो कार्यको थालनी गरिएको उनको भनाई छ ।

जिल्लाका सबै कार्यालयलाई यस प्रकारका सेवा निःशुल्क प्रदान गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

कार्तिक १७ गते प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको बैठकले निःशुल्क सेवालगायतका विभिन्न निर्णय गरेको थियो ।