खिजीदेम्बाका थप ३ माविमा दिवा खाजा शुरु

भिजन समाचार
14
Shares

जिल्लाको खिजीदेम्बा गाउँपालिकाका थप ३ वटा माध्यमिक विद्यालयमा पोषणयूक्त दिवा खाजा शुरुवात भएको छ । ७ वटा माध्यमिक विद्यालयमध्ये यस बर्ष थप ३ वटामा दिवा खाजा शुरुवात भएको हो ।

गत बर्षदेखि दिवा खाजा कार्यक्रम लागू भएपनि ३ वटामा भने प्राविधिक तथा भौगौलिक कारणले खाजा कार्यक्रम लागू हुन सकेको थिएन । कल्स ओभर रिजेज नेपाल, खिजीदेम्बा गाउँपालिका र अभिभावकको संयूक्त लागत साझेदारीमा दिवा खाजा कार्यक्रम शुरु भएको कल्स ओभर रिजेज नेपालका बरिष्ठ कार्यक्रम संयोजक दीपेश महर्जनले जानकारी दिए । यसबर्ष वडा नं. ९ को शिवालय मावि छेर्मादिंग, वडा नं. ३ को चण्डेश्वरी मावि माझगाउँ र वडा नं. ७ को हिमगंगा मावि रावादोलूमा कार्यक्रम शुरुवात भएको हो ।

यसअघि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटी, चण्डेश्वरी मावि रगनी, कुण्डली मावि खिजीकाति र फुलमती मावि खिजीफलाटेमा पोषणयूक्त दिवा खाजा कार्यक्रम सञ्चालन भएको थियो ।

पोषणयूक्त दिवा खाजा कार्यक्रम अन्तर्गत कल्स ओभर रिजेज नेपालको २० रुपैयाँ, गाउँपालिका र अभिभावकको ५,५ रुपैयाँ गरी ३० रुपैयाँ बराबरको खाजा खाँदै आएका छन् ।

दिवा खाजा कार्यक्रमका लागि दैनिक फरक फरक परिकार खुवाउँदै आएको र स्थानीय उत्पादनलाई प्रोत्साहन दिइएको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले जानकारी दिए । संस्थाले गोरखा, दोलखा र ओखलढुंगामा लामो समयदेखि शिक्षासँग सम्वन्धित कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

गाउँपालिकाको शैक्षिण गुणस्तर अभिबृद्धिका लागि दिवा खाजा कार्यक्रम लागू गरेको र यसबाट दक्ष जनशक्ति उत्पादन, विद्यार्थी टिकाउदरमा बृद्धि भई समग्र पालिकाको दीर्घकालिन विकास र दक्ष जनशक्ति विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । 

भौगोलिक रुपमा विद्यालयसम्म आउन दैनिक २ घण्टाभन्दा बढी समय धाउनुपर्ने वाध्यात्मक अवस्थामा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको अध्यक्ष शेर्पाको भनाई छ । दिवा खाजामा स्थानीय जैविक उत्पादनलाई प्रथामिकता दिइने भएकाले कृषकहरुलाई पूर्ण रुपमा लाभ हुने र दिवा खाजाका लागि भएको लगानी समेत स्थानीयहरुमै बाँडफाँड भएर जाने अध्यक्ष शेर्पाले बताए । 

गाउँपालिकाभित्र ३१ वटा विद्यालयमा करीव २ हजार ५ सय बालबालिकाहरु अध्ययनरत छन् ।