सेनाको कमान्डमा ओखलढुंगामा संयुक्त सुरक्षा गस्ती सुरु

भिजन समाचार
32
Shares

शान्ति सुरक्षालाई थप सबल बनाउन ओखलढुंगामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको छ । नेपाली सेना दुर्गा बक्स गण ओखलढुंगाको नेतृत्वमा सुरु गरिएको संयुक्त गस्तीमा सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगा र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा समेत सहभागी छन् ।

नेपाली सेना दुर्गा बक्स गण ओखलढुंगाका गणपति एवम् प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेका अनुसार आइतबार देखि दैनिक रूपमा गस्ती सञ्चालन गरिएको हो । संयुक्त टोलीले सदरमुकाम, रुम्जाटार, रामपुर, मानेभन्ज्याङलगायतका क्षेत्रहरूमा गाडी र पैदल दुवै माध्यमबाट नियमित गस्ती गर्न थालेका छन् ।

शान्ति सुरक्षाको सुदृढीकरण र जनताको सुरक्षाप्रति विश्वास अभिवृद्धि गर्न संयुक्त गस्तीलाई निरन्तरता दिइने उनले बताए ।

संयुक्त गस्तीले सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा पनि सहयोग पु¥याउने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीको भनाई छ ।

संयुक्त सुरक्षा संयन्त्रका अनुसार आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा सुरक्षा निकायहरूबीच सहकार्य र तालमेल अझ सुदृढ बनाइएको छ ।

गस्तीले सवारी साधनको निगरानी, संवेदनशील क्षेत्रको अनुगमन र रात्रीकालीन सुरक्षामा विशेष ध्यान दिने जनाएको छ ।