जेनजी आन्दोलनपछि बढेको सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै ओखलढुंगा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाइहरूले कडाइका साथ निगरानी र चेकजाँच अभियान सञ्चालन गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार कैदीबन्दीहरू, प्रहरीबाट लुटिएका हातहतियार तथा गोली–गठ्ठा खोजतलास गर्ने उद्देश्यले जिल्लामा पनि व्यापक चेकजाँच अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
सोही क्रममा प्रहरी कार्यालय ओखलढुंगा र मातहतका युनिटहरूले शनिबार कुल २१९ वटा साना र ठूला सवारी साधनहरूको कडाइका साथ चेकजाँच गरेका छन् ।
चेकजाँचको क्रममा फरार कैदी, हातहतियार तथा गोली–गठ्ठा फेला नपरे पनि ट्राफिक नियम उल्लङ्घन गर्ने नौं वटा सवारी साधनहरूलाई कानुन बमोजिम कारबाही गरिएको उनले बताए । जसबाट जम्मा १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सुरक्षासँग सम्बन्धित सम्भावित जोखिम र अपराध नियन्त्रणलाई ध्यानमा राखेर प्रहरीले जिल्लाभर निगरानी र गस्ती गतिविधि तीव्र पारेको छ । चेकजाँच नियमित रूपमा जारी रहने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
कुनै पनि शंकास्पद गतिविधि वा व्यक्तिको जानकारी भएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत प्रहरील आग्रह गरेको छ ।

प्रतिक्रिया