ओखलढुंगाको सदरमुकाममास्थित सगरमाथा जनता माध्यमिक विद्यालय आर्थिकमा सबल, शैक्षिक रुपमा सुधारोन्मुख र व्यवस्थापनमा सन्तोषजनक देखिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १२ मा रहेको पुरानो र प्रतिष्ठित विद्यालयले शुक्रबार आफ्नो सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रधानाध्यापक डिल्लीराम कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले आर्थिक वर्ष २०८१-०८२ मा पाँच करोड ७८ लाख ७२ हजार ९९३ रुपैयाँ ५४ पैसा आम्दानी र बराबर खर्च गरेको विवरण सार्वजनिक गरिएको छ । साथै विद्यालयको शैक्षिक उपलब्धि ६४.६५ प्रतिशत पुगेको र व्यवस्थापन पक्ष सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ । पारदर्शी, उत्तरदायी र शैक्षिक सुधारको लागि विद्यालय सँधै प्रतिवद्ध रहेको उनले बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धिचरण नगरपालिका उप–प्रमुख केदारबाबु बस्नेतले सगरमाथा जनता मावि जिल्लाको गौरव रहेको बताउँदै यस विद्यालयले गरेको पारदर्शिता र गुणस्तरका यी अभ्यासहरू अन्य विद्यालयका लागि उदाहरण बन्ने बताए ।
त्यस्तै, विशेष अतिथि तथा सिद्धिचरण नगरपालिकाका संस्थापक मेयर मोहनकुमार श्रेष्ठले आफ्नो नेतृत्वकालमा विद्यालयमा भएका भौतिक तथा आर्थिक सुधारहरूको स्मरण गर्दै हालका नेतृत्वले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा थप ध्यान दिनुपर्ने सुझाव बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. १२ का अध्यक्ष उमंग श्रेष्ठले विद्यालयले सामाजिक लेखापरीक्षणलाई नियमित अभ्यासका रूपमा लैजाने र विपन्न तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमको अवसरमा दाताहरुले खडा गरेका विभिन्न अक्षयकोषबाट करिब ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिक्रिया