अंधेरीकाे ‘वडा अध्यक्ष भलिबल कप’ उपाधि सल्लेरीलाई

भिजन समाचार
36
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ अंधेरीनारायणस्थानमा सम्पन्न वडा अध्यक्ष भलिबल कप–२०८२ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धिचरण नगरपालिका–८ सल्लेरीले जितेको छ । सोमबार भएको फाइनल खेलमा चिशंखुगढी गाउँपालिका–१ कुईभिरलाई सोझो सेटमा हराउँदै सल्लेरी विजयी भएको हो ।

प्रतियोगितामा चिशंखुगढी गाउँपालिका–६ भदौरे तृतीय भएको छ भने सिद्धिचरण नगरपालिका–१ तलुवाको टोली सान्त्वना भएको खेल संयोजक अनुप राईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः नगद् रु. ३५ हजार, २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ भने सान्त्वना हुनेलाई नगद पाँच हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडी सल्लेरीका छिरिङ तामाङ, उत्कृष्ट डिफेन्डर भदौरेका सन्तोष भुजेलसहित उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापनको अवसरमा विजेता समूहलाई वडा अध्यक्ष सिताराम दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

एभरेस्ट क्लब बासबोट ओखलढुंगाको आयोजना तथा सिद्धिचरण नगरपालिका–३ को सह–आयोजनामा भएको प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।

कर्तिक १३ गतेबाट सुरु भएको प्रतियोगिता कार्तिक १७ गतेसम्म सञ्चालन भएको थियो ।