पालिकाबाट सेप्लीको क्षतिग्रस्त पुल अनुगमन, मर्मत गर्न अझै २ साता लाग्ने

भिजन समाचार
136
Shares

मोलुङ गाउँपालिका–८ मा स्थित सेप्ली झरनाको क्षतिग्रस्त झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष र प्राविधिकसहितको टोलीले अनुगमन गरेको छ । तीन महिना अघि माथिबाट खसेको ढुंगाले पुलको बीच भागमा प्वाल पारेपछि जोखिमपूर्ण बनेको पुलको पालिकाका जनप्रतिनिधि र प्राविधिकहरुले अनुगमन गरेका हुन् ।

पुलको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राईले बर्षातका कारण सडक अवरुद्ध भएको र टाढाबाट सामान ल्याउनुपर्ने भएकाले मर्मतमा ढिलाई भएको बताए । अबको दुई साता भित्र पुल मर्मतको काम सक्नेगरि पहल भइरहेको उनको भनाई छ ।

‘शुक्रबार हामीले प्राविधिकसहित पुलको अवस्था बुझ्न गएका थियौँ । निकै जोखिमपुर्ण छ । क्षति पुगेको भाग मर्मत गर्नका लागि ६० हजार बढी लागत लाग्ने अनुमान भयो । मर्मतका लागि आवश्यक पर्ने चार वटा फलामको बिम बुटवलमा पाइने भएकाले त्यहाँबाट ल्याउनुपर्ने देखिएको छ । अन्य डेक र नट लगायतका सामान मौज्दात रहेकोले सामान आएपछि आगामी दुई सातामा पुल मर्मतको काम हुन्छ ।’ मलुङ गाउँपालिका अध्यक्ष उत्तम राई उनले भने ।

वडा अध्यक्ष सुधिर राईले पनि बर्षातका कारण सडक अवरुद्ध हुँदा समयमा मर्मत गर्न नसकिएको बताएका छन् । पर्यटकीय पूर्वाधार विकास योजना अनुसार झरनालाई नजिकबाट नियाल्न गतवर्ष निर्माण गरिएको पुल यसैवर्ष क्षति भएको हो ।

सुन्दर र आकर्षक सेप्ली झरना मोलुङ गाउँपालिकाको प्रमुख आन्तरिक पर्यटकीय गन्तव्य मानिन्छ । तर पुल क्षतिग्रस्त भएपछि हाल आवागमनमा समस्या र पर्यटकको संख्या घटेको स्थानीयले बताएका छन् ।

पुलमा क्षति भएको लामो समयसम्म पनि मर्मत नभएको र जोखिम रहेको बिषयमा भिजनबाट समाचार प्रकाशन–प्रशारण भएको थियो । चौतर्फि आलोचनापछि पालिकाले पुल मर्मतमा चासो देखाएको छ ।