एनेस्थेसिया असिस्टेन्टले एक लाख रुपैयाँभन्दा बढी तलब मागेपछि जिल्ला अस्पताल रुम्जाटरमा शल्यक्रिया (अपरेसन) सेवा सुरु हुन सकेको छैन ।
साउनको अन्तिम साता विशेषज्ञ चिकित्सक नियुक्त भएपछि केही सातामै सेवा प्रारम्भ गर्ने तयारी भए पनि तीन महिना बित्दा पनि अपरेसन सेवा सञ्चालन हुन नसकेको हो ।
अस्पताल प्रमुख डा. रवि कुमार यादवका अनुसार अपरेसन थिएटर (ओटी) सञ्चालनका लागि आवश्यक पूर्वाधार, औषधि र उपकरण तयार भइसकेको छ । तर एनेस्थेसिया असिस्टेन्ट (बेहोस पार्ने प्राविधिक) पद रिक्त भएकाले सेवा सुरु गर्न ढिलाइ भएको हो ।
“एनेस्थेसिया असिस्टेन्टको तलब ३५ हजारसम्म तोकिएको भए पनि अस्पतालले ६० देखि ७० हजारसम्म दिनसक्ने जनाएको थियो,” डा. यादवले भने, “तर अन्तर्वार्तापछि छनोट भएका व्यक्तिले एक लाखभन्दा बढी तलब माग्दै नियुक्ति लिन अस्वीकार गरेपछि सेवा सुरुमा ढिलाइ भएको हो ।”
अस्पतालले आयोजना गरेको परीक्षामा मोरङको रतुवामाई नगरपालिकाका निर्मल राजवंशी छनोट भएका थिए । तर तलबका कारण उनले पद स्वीकृत नगरेपछि सेवा सुरु हुन सकेको छैन ।
हाल वैकल्पिक उम्मेदवारमार्फत सेवा सुरु गर्नेबारे छलफल भइरहेको र छिट्टै नियुक्ति गरेर अपरेसन सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिए ।
अस्पतालले ओटी सेवाअन्तर्गत सिएस (सी–सेक्शन) प्रसूति शल्यक्रिया, हाइड्रोसिल, हर्निया, एपेन्डि साइटिस लगायत सामान्यदेखि मध्यम स्तरका शल्यक्रिया सञ्चालन गर्ने तयारी गरेको छ ।
साउनमै जनरल प्राक्टिस (एमडीजीपी) विशेषज्ञ डा. सञ्जय पोखरेलको नियुक्ति भइसकेको छ । शल्यक्रिया सेवा सुरु भएपछि जिल्लाका बिरामीलाई सामान्यदेखि मध्यम स्तरका अपरेसनका लागि बाहिरका अस्पताल धाउनुपर्ने समस्या घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया