जिल्ला प्रशासन कार्यालय ओखलढंगाले चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ११३ वटा सवारी पास जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार यी सबै पासहरू बिदाको दिनमा सरकारी प्रयोजनका लागि सवारी सञ्चालन गर्न जारी गरिएका हुन् ।
तर, प्रशासनले सरकारी सवारी दुरुपयाेग भए बारे अनुगमन गर्न सकेकाे छैन । सवारी पास जारी गरेपछि त्यसको पनि अनुगमन गर्न नसकिएको प्रशासन स्रोतले जनाएको छ । प्रजिअ मंग्रातीका अनुसार अनुगमनमा कठिनाइ हुने भएकाले कार्यालय प्रमुख, कर्मचारी र जनप्रतिनिधि आफैं जिम्मेवार भएर सरकारी सवारी नियम अनुसार मात्र प्रयोग गर्नुपर्ने आवश्यकता छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढंगाका अनुसार प्रशासनले ११३ वटा सवारी पास जारी गरे पनि बिना पास सञ्चालन भएका सवारीको तथ्यांक छैन ।
स्थानीय सरोकारवालाहरूले सवारी दुरुपयोग रोक्न प्रशासनले अनुगमन प्रणाली प्रभावकारी बनाउनुपर्ने, बिना पास सञ्चालन भएका सवारीमा कडाइ गर्नुपर्ने र सार्वजनिक स्रोतको दुरुपयोग रोक्न स्पष्ट नीति आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रशासनले भने आगामी दिनमा सवारी पास प्रणाली र अनुगमन प्रक्रिया सुधार गर्दै दुरुपयोग नियन्त्रणमा ध्यान केन्द्रित गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया