ओखलढुंगाको लिखु गाउँपालिका–९ मा अवस्थित पोकली झरना सेवा समाजको नवौँ साधारणसभाबाट कृष्ण ढुङ्गेल अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारणसभाले ढुङ्गेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिमा उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी, महासचिवमा प्रतिरोध सुवेदी, सचिवमा खेमराज ढुङ्गेल, कोषाध्यक्षमा गीता घिमिरे ढुङ्गेल, सह–सचिवमा ज्योति रापाचा र सह–कोषाध्यक्षमा सुजन घिमिरे निर्वाचित भएका छन् । सदस्यहरूमा विष्णु सुवेदी, प्रमिला दाहाल र रिता भट्टराई छन् । बाँकी सदस्य कार्यसमिति पछि थप गरिने नवनिर्वाचित उपाध्यक्ष बरालले जानकारी दिए ।
कोशी प्रदेशका सांसद बाबुराम गौतमले पोकली झरनालाई जिल्लाको गौरव र देशको गहना भन्दै यसको विकासका लागि निरन्तर प्रयास भइरहेको बताए । उनले अधुरा रहेका विकासका कार्यहरू नयाँ नेतृत्वसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिवद्धता जनाए ।
त्यस्तै, समाजका पूर्व अध्यक्ष मिलन कुमार विष्टले पोकली झरना विकासका लागि आफूले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले पालिकाबाट सम्भव सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
साधारणसभामा वडाध्यक्ष केशबहरी ढुङ्गेलले पनि पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको समग्र विकासका लागि निरन्तर साथ र सहयोग रहने बताएका छन् ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष बुद्धिप्रसाद ढुङ्गेलले संस्थागत प्रतिवेदन, महासचिव निलराज गौतमले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ओमकार सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाकै अवसरमा नवनियुक्त अध्यक्ष ढुङ्गेलले पोकलीबासीका लागि एम्बुलेन्स सञ्चालन गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । साथै, पोकली जाने पर्यटकको सहजताका लागि भरना आसपास पाहुनाघर निर्माण, झरनातर्फ जाने सडक व्यवस्थापन, झरना क्षेत्र नजिक हटिया सञ्चालन, र पोकली–लिखुबासीलाई काठमाडौंमा उपचारका लागि सहुलियत सुविधा उपलब्ध गराउनेजस्ता योजनाहरू अघि सारेका छन् ।
नेपालकै दोस्रो अग्लो झरना मानिने पोकली झरना १३० मिटर अग्लो छ । पछिल्ला वर्षहरूमा प्रचार–प्रसार बढेसँगै पोकली झरनामा आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया