जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले विविध कार्यक्रम गरी ७०औँ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा एक महिनासम्म विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।
कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता, मठ–मन्दिर सरसफाइ, प्रहरी कर्मचारीका लागि आँखा जाँच शिविर, आन्तरिक खुल्ला ब्याडमिन्टन, टेबल टेनिस र म्युजिकल चेयर प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार भएको मुख्य समारोहमा प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी शोक सलामी अर्पण गरेका थिए । कार्यक्रममा उनले राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा रहेर ज्यान आहुती दिने प्रहरीप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी संगठनलाई जनमुखी, जिम्मेवार र सेवा–केन्द्रित बनाउन सबै प्रहरी कर्मचारी लाग्नुपर्नेमा जोड दिएका थिए ।
दिवसकै अवसरमा अमर प्रहरी परिवारका तीन जनालाई दोसल्ला ओढाई सम्मान गरिएको प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए । खेलकुद प्रतियोगितामा विजेताहरूलाई प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विजय कार्की र इलाका प्रहरी कार्यालय बरुणेश्वरका प्रमुख प्रहरी निरीक्षक मनिष लुईटेलले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी, भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी सहायक हवल्दार टेकराज बस्नेतलाई प्रशंसा–पत्र र नगदसहित सम्मान गरिएको छ । दिवसकै अवसरमा उत्कृष्ट प्रहरी तथा प्रहरी सन्ततिमा रहेका जेहेन्दार विद्यार्थीलाई पनि नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया