लागुऔषधको दुर्व्यसन र ओसारपसार देशव्यापी चुनौती बन्दै गएको बेला ओखलढुंगामा पनि यसको प्रभाव देखिन थालेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बिहीबार अभिभावकहरूलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
सिद्धिचरण नगरपालिका–११ सोब्रुमा आयोजित उक्त कार्यक्रम ओखलढुंगा सामुदायिक अस्पताल र लालीगुराँस क्लब सोब्रुको सहजीकरणमा गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य अभिभावकलाई लागुऔषधका दुष्प्रभाव, कानुनी कारबाही, र बालबालिकालाई सचेत पार्ने उपायबारे जानकारी दिनु थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जिल्लामा पछिल्ला दिनमा लागुऔषध सम्बन्धी घटनामा वृद्धि हुँदै गएको जानकारी दिँदै नियन्त्रणका लागि प्रहरी गस्ती, अनुगमन र कारबाहीमा कडाइ गरिएको बताए । समुदाय र अभिभावक सचेत बने लागुऔषधको कुलतमा युवाहरू फस्ने सम्भावना निकै घट्ने प्रहरी निरीक्षक भट्टराईले बताए ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले विगतमा शून्य अवस्थामा रहेको लागुऔषध समस्या अहिले समुदायमा प्रवेश गर्न थालेको उल्लेख गरे । उनले प्रशासन र सुरक्षासंस्थाबीच सहकार्यमा नियमित अनुगमन र सचेतना कार्यक्रम सञ्चालन भइरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले रोग नलाग्ने वातावरण निर्माण गर्नु उपचारभन्दा प्रभावकारी हुने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य भएको बताए । उनले अस्पतालले प्रहरी, प्रशासन, विद्यालय र समुदायसँग मिलेर सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए ।
ओखलढुंगामा प्रतिवन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । उनिहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सिद्दिचरण नगरपालिका–९ का २६ वर्षीय चुलेन्द्र खड्का र सिद्धिचरण नगरपालिका–१२ का २६ वर्षीय सागर केसीलाई लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धानपछि सोमबार अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
सहजीकरणकर्ता लालीगुराँस क्लब सोब्रुका अध्यक्ष तिलक राईले आफैं मादक पदार्थको कुलतबाट मुक्त भएको अनुभव बाँड्दै क्लबले हालसम्म पाँच हजार ७५७ जनालाई मदिरा सेवनको कुलतबाट मुक्त गर्न सहयोग गरेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार स्थानीय स्तरमै पुनःस्थापना र परामर्श कार्यक्रमले धेरै युवालाई सामान्य जीवनमा फर्काउन मद्दत गरेको छ ।

प्रतिक्रिया