जिल्ला प्रशासनमै मतदाता दर्ता सेवा सञ्चालन गर्न जेन-जीको माग

भिजन समाचार
256
Shares
प्रजिअ मंगरातीकाे साथमा जेनजी प्रतिनिधिहरु।

जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ता र अद्यावधिक सेवा उपलब्ध गराउन ओखलढुंगाका जेन–जी युवाहरूले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीचको लामो दूरीका कारण सेवाग्राहीले दैनिक रूपमा सास्ती व्यहोर्नुपरेको भन्दै उनीहरूले एकीकृत सेवा प्रणालीको आवश्यकता औंल्याएका हुन् ।

हाल जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन कार्यालय पुग्न सवारीसाधनमा १५ मिनेट र पैदल हिँड्दा करिब ४५ मिनेट लाग्ने भएकाले धेरै सेवाग्राहीले प्रशासनमा नागरिकता बनाएर पनि दुरीका कारण मतदाता नामावली दर्ता नगरी फर्किनुपर्ने बाध्यता रहेको युवाहरूले बताएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रशासनमै अस्थायी रूपमा भए पनि मतदाता नामावली दर्ताको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती र जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निमित्त प्रमुख बिदुर बस्नेतलाई मौखिक रूपमा आग्रह गरिएको जेन–जी ओखलढुंगाका संयोजक सुजन राईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतले कर्मचारी दरबन्दी, स्रोत–साधन र सम्भावनाको मूल्यांकनपछि निर्णय गर्ने बताएका छन् । विशेषगरी नयाँ नागरिकता लिने युवा, महिला, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि लामो दुरी पार गरेर निर्वाचन कार्यालय पुग्न कठिनाइ हुने भएकाले सहज पहुँचका लागि सो माग गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले असोजको दोस्रो साता देखि विशेष मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको छ । हाल दैनिक करिब २० जना सेवाग्राहीले दर्ता तथा अद्यावधिक गराइरहेका छन् भने हालसम्म १३५ जना नयाँ मतदाता थपिएका छन् । ओखलढुंगा जेन-जीका प्रतिनिधिहरु ध्यानाकर्षण कार्यक्रममा सहभागी भएका थिए ।