ओखलढुंगाको चार्खुमा घरैमा मृत भेटिएकी महिलाको हत्या गरिएको पुष्टि भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्कीको घरैमा शंकास्पद शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर विशेष अनुसन्धान गरेको थियो । अनुन्धानले हत्या भएकाे पुष्टि गरेकाे हाे ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले हत्याको आशंका गरेको थियो । घटनास्थल र शवको अवस्था विश्लेषण गरेर थप अनुसन्धान गर्नुपर्ने भएकाले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान गर्दा कर्तव्य गरी हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले भिजनलाई जानकारी दिए । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
श्रीमान् बितेपछि घरमा एक्लै बस्दै आएकी उनको असोज २६ गते निधन भएको भनि २७ गते हिँजो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी लगत्तै कार्कीको घरमा पुगेको प्रहरीले हत्याको आशंका गरेर शव नउठाइ अनुसन्धान थालेको थियो ।
शव पोष्टमार्टमका लागि कानूनी प्रकृया अघि बढाएर आफन्तलाई शव जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हत्या पुष्टि भएसँगै कस्ले किन हत्या गर्यो भन्ने कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया