मानेभन्ज्याङमा म्याद गुज्रिएका सामान फेला

भिजन समाचार
162
Shares

बारम्बारको अनुगमनपछि पनि ओखलढुंगाको मानेभन्ज्याङ बजारमा फेरि म्याद गुज्रिएका सामान फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनमा ११ वटा पसलबाट करिब ३४ हजार ४१० रुपैयाँ बराबरका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको हो ।

चकलेट, कुरमरे, कोल्ड ड्रिंकसहितका सामान भेटिएका अनुगमन टोलीका संयोजक राजन श्रीवास्तवले बताए । श्रीवास्तवका अनुसार उपभोक्ताले म्याद नहेरी सामान किन्ने र व्यापारीले त्यसको फाइदा उठाउने गरेका छन् ।

प्रशासनले व्यापारीलाई सचेत गराउँदै यस्ता क्रियाकलाप दोहोरिए कानुनी कारबाही हुने चेतावनी दिएको छ । उपभोक्तालाई म्याद र गुणस्तर हेरी मात्र सामान खरिद गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, स्थानीय तह र प्रहरीको सहकार्यमा मंगलबार मानेभन्ज्याङ गाउँपालिका–५ मानेभन्ज्याङ बजारमा अनुगमन गरिएको थियो ।