महिलाको अश्लिल फोटो बनाएर ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ

भिजन समाचार
1.1k
Shares

महिलाको अश्लिल फोटो बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने ओखलढुंगाको मोलुङ गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । विधुतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूर गरेको अभियोगमा मोलुङ गाउँपालिका–१ का ३० वर्षीय ईश्वर वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

वाग्लेले महिलाको अश्लिल फोटो बनाएर आफन्तलाई पठाई ‘ब्ल्याकमेलिङ’ गरेका थिए । पीडित महिलाले आफूलाई हैरानी दिइएको र अश्लिल फोटोमार्फत ब्ल्याकमेल गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले असोज २३ गते वाग्लेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार जिल्ला अदालत ओखलढुंगाबाट असोज २४ गते १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

जिल्लामा यस प्रकारको ब्ल्याकमेलिङ सम्बन्धी पहिलो उजुरी दर्ता भएको प्रहरीको भनाइ छ । डिजिटल माध्यम प्रयोग गरी अश्लिल सामग्री तयार गरी कसैलाई हैरानी वा धम्की दिने कार्य कानूनी अपराध अन्तर्गत गर्ने भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।