कटुञ्जे माविको अध्यक्षमा पुन: झनक कार्की निर्विरोध

भिजन समाचार
218
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे माविको विव्यस अध्यक्षमा पुन: झनककुमार कार्की निर्विरोध चयन भएका छन् । विधालयको चौधौं अभिभावक भेलाले अघिल्लो कार्यकालमा विधालयको शैक्षिक विकास र गुणस्तर सुधारमा अब्बल काम गरेको भन्दै थालिएका काम संस्थागत गर्ने र थप शैक्षिक उन्नयन जिम्मेवारीसहित निवर्तमान अध्यक्ष कार्कीलाई नै पुनः दोस्रो कार्यकालका लागि विव्यस अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

सुनकोशी ९ का संस्थापक वडाअध्यक्ष समेत रहेका कार्कीले यसअघि विव्यस अध्यक्ष भएदेखि नै कटुञ्जे माविलाई प्रविधिमैत्री र नमूना सामुदायिक विधालय बनाउने योजना अनुसार काम गर्दै आएका थिए । कार्की नेतृत्वको विव्यसले गरेका शैक्षिक गतिविधिको भेलामा अभिभावक र सरोकारवालाले प्रशंसा गरेका छन् ।

समितिको सदस्यहरुमा भक्तबहादुर कार्की, कमला गिरी, केशरबहादुर सुनुवार, पोटकुमारी चौलागाइँ (पराजुली) र बुधकुमारी धमला चयन भएका छन् ।

अभिभावक भेलाबाट लोकनाथ अधिकारीको अध्यक्षतामा ८ सदस्य शिक्षक अभिभावक संघ गठन भएको छ ।

अभिभावक भेलाकै अवसरमा विद्यालयका पूर्व विद्यार्थी चन्द्रलाल गिरीलाई नेशनल स्कार्फद्वारा सम्मान गरिएको छ । वरिष्ठ पत्रकार समेत रहेका गिरीले आफुले पढेको विद्यालय कटुञ्जे माविको स्काउट विकास कार्यक्रममा सहयोग गरेका थिए । साथै नयाँ स्काउटलाई स्कार्फ वितरण पनि गरिएको कटुञ्जे माविका प्रअ कृष्णप्रसाद पुडासैनीले भिजनलाई जानकारी दिए ।