धानबालीमा फड्के किराको प्रकोप

फड्के किरा प्रकाेपले सुकेकाे धान बाली।

ओखलढुंगामा पहिलो पटक फड्के किराको प्रकोप देखिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा लगाइएको धानबालीमा फड्के किराको प्रकोप देखिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा लगाइएको हाइब्रिड जातका धान बालीमा यो प्रकोप देखिएको छ ।

फड्के किराको आक्रमणका कारण करिब ८० प्रतिशत धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईले जानकारी दिए । राईका अनुसार जिल्लामा पहिलो पटक यस्तो प्रकारको प्रकोप देखिएको र किसानहरूलाई बालीको सुरक्षाबारे सतर्क रहन सुझाव दिइएको छ ।

फड्के किराहरू अत्यन्तै हानिकारक हुने र यी किराले धानमा टुङग्रो, ग्रास्री स्टण्टजस्ता भाइरस जन्य रोगहरू समेत सारेर बालीमा ठूलो नोक्सानी पु¥याउछ । आक्रमण बढ्दै गएमा धानका बोटहरू “डडेलो” देखिने, बाला नलाग्ने र सुकेर मर्ने अवस्था आउने, लागेका बालामा नभरिएका वा फोस्रा दानाहरू हुने जोखिम रहने राईले बताए ।

फड्के किराको व्यवस्थापनका लागि केन्द्रले किसानहरूलाई छिटो पाक्ने धान रोप्ने, धान रोप्दा गाँजको घनत्व घटाउने, धानबारी झारपातमुक्त राख्ने, सन्तुलित मात्रामा रासायनिक मल प्रयोग गर्ने र आवश्यक परे एसिफेट, थायमेथोक्साम वा इमिडाक्लोप्रिड जस्ता बिषादी प्रयोग गर्नु पर्ने कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।