दुई महिनामा ओखलढुंगा बाट ८७२ युवा विदेशिए

भिजन समाचार
76
Shares

ओखलढुंगाबाट दुई महिनाको अवधिमा ८७२ युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र ओखलढुंगाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भदेखि हालसम्म ८७२ जना युवाले रोजगारीका लागि वैदेशिक श्रम अनुमति लिएका हुन् ।

केन्द्रकी परामर्शकर्ता राधा बस्नेतका अनुसार विदेशिनेहरुमध्ये ७३३ जना पुरुष र १३९ जना महिला छन् । उनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये १५.९४ प्रतिशत महिला रहेका छन् भने बाँकी पुरुष छन् ।

रोजगारीका लागि मुख्यत मलेसिया, कतार, साउदी अरब र युएई जानेको संख्या बढी रहेको बताइएको छ । गत आवमा भने जिल्लाबाट चार हजार १६५ पुरुष र ७११ महिला गरि कुल चार हजार ८७६ युवा विदेशिएका थिए ।

बस्नेतका अनुसार आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुरक्षित आप्रवासनका विषयमा निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उनका अनुसार रोजगारीका क्रममा समस्या परेका युवालाई केन्द्रमार्फत परामर्श र आवश्यक सहयोग प्रदान गरिँदै आएको छ ।