ओखलढुंगामा चट्याङ र पहिरोबाट ७ पशु मरे

भिजन समाचार
112
Shares

निरन्तरको वर्षा र चट्याङका कारण ओखलढुंगाको विभिन्न स्थानमा पशुचौपायामा क्षति पुगेको छ । आइतबार बिहान मानेभञ्ज्याङ गाउँपालिका–५ धिमिलेमा पहिरोले गोठ पुरिँदा एउटा भैसी मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

ढुंगा, माटो र जस्ताको छानो भएको एकतले गोठ भन्दा माथिबाट राति करिब ३ बजे पहिरो खस्दा अकलबहादुर राईको गोठ पुरिएको प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।

पहिरोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार चट्याङ लागेर जिल्लाका विभिन्न स्थानमा पशु चौपायाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–१ नाल्सुका भिम बहादुर बि.कले पालेको गाई चट्याङको झट्का लागेर मरेको प्रहरीले जनाएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साका यान बहादुर कार्कीको तीन गोरु, एउटा भैसी र एउटा खसी पनि शनिबारको चट्याङका कारण मरेका छन् ।

यसअघि चिशंखुगढी गाउँपालिका–८ माम्खाकी प्रेम कुमारी भुजेल चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचार जिल्ला अस्पताल रुम्जाटारमा भइरहेको प्रहरीले जनाएको छ ।

हाल जिल्लाभर बाढी, पहिरो र चट्याङका कारण भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको र अझै वर्षा जारी रहेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।