चाडपर्वमा दुर्घटना रोक्न ओखलढुंगामा सरप्राइज चेकिङ

भिजन समाचार
78
Shares

चाडपर्वको भीडभाड नजिकिँदै गर्दा ओखलढुंगामा प्रहरीले यातायात सुरक्षामा विशेष ध्यान दिन थालेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र मातहतका २१ वटा प्रहरी एकाइहरूले शुक्रबारदेखि सरप्राइज चेकजाँच सुरु गरेका छन् ।

ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार, राजमार्गदेखि भित्री ग्रामीण सडकसम्म सञ्चालन भएका सवारीसाधनमा मापसे, तीव्र गति, ओभरलोड तथा जीर्ण सवारी प्रयोग नगर्न सचेत गराउने र दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ चेकजाँच थालिएको हो ।

अभियानको पहिलो चरणमै १२० वटा दुई पाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारीसाधन जाँच गरिएको छ । तीमध्ये ९ वटा सवारी नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ । सो क्रममा करिब १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरीले चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम उच्च हुने भन्दै नियमित मात्र नभई आकस्मिक चेकजाँचलाई पनि निरन्तरता दिने डीएसपी केसीको भनाई छ ।