दशैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै गरिएको बजार अनुगमनका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ रामबजारमा म्याद गुज्रिएको अखाद्य सामग्री फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले प्रशासकीय अधिकृत राजन श्रीवास्तवको संयोजकत्वमा १२ वटा होटल, किराना पसलमा अनुगमन गरेको हो । सो क्रममा तीन हजार ३४५ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गरिएको श्रीवास्तवले जानकारी दिए ।
अनुगमनका क्रममा डिउ, फ्यान्टा, कोक, स्प्राइट, बियर, मसला र मिठाई लगायतका वस्तु म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्ता र व्यापारी दुवैलाई गुणस्तरीय र म्यादभित्रका सामान मात्र खरिद–विक्रि गर्न आग्रह गरेको छ । साथै, बजार अनुगमनलाई सदरमुकाम मात्र नभई गाउँ–गाउँसम्म पु¥याइने र म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरेका पसललाई कारबाही गरिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया