ओखलढुंगामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था

भिजन समाचार
64
Shares

दशैं, तिहार र छठ पर्वमा यात्रुहरूको सहजता र सुरक्षालाई लक्षित गर्दै ओखलढुंगामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । आज सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । उक्त कक्षलाई प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले उद्घाटन गर्दै चाडपर्वलाई यात्रुमैत्री बनाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई सहकार्य गर्न आग्रह गरेका छन् ।

प्रजिअ मंग्रातीले यात्रुको चाप, भिडभाड र दुर्घटना हुने जोखिमलाई न्यून पार्दै सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यो पहल गरिएको बताए । उनले यात्रुमा हुने ठगी, असुविधा तथा दुर्व्यवहार नियन्त्रण गर्न र गन्तव्यसम्म सजिलै पु¥याउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ खनालका अनुसार चाडपर्वका समयमा यात्रुहरूले भोग्ने सम्भावित समस्या न्यूनीकरणका लागि तत्काल सहयोग पुर्याउने उद्देश्यले रमाइलो डाँडामा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

यसअघि मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न जिल्ला भित्रिने तथा बाहिरिने सवारी साधनमा विशेष कडाइका साथ चेकजाँच गर्ने तयारी समेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।