केन्द्रिय कारागार काठमाडौंबाट गत भदौ २४ गते फरार भएका कैदी रुद्रबहादुर तामाङलाई ओखलढुंगामा प्रहरीले पक्राउ गरेको छ ।
मोलुङ गाउँपालिका–६ घर भएका तामाङ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । कारागारबाट फरार भएपछि उनी विरुद्ध प्रहरीले देशभर सर्च अपरेशन थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार विशेष सूचनाका आधारमा आइतबार प्रहरी चौकी प्राप्चाबाट खटिएको विशेष टोलीले मोलुङ गाउँपालिका–५ बाट तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि ओखलढुंगाबाट फरार कैदी पक्राउ परेका घटना सार्वजनिक भएका छन् । प्रहरीका अनुसार कैदी फरार हुने घटना नियन्त्रणमा ल्याउन सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । देशका विभिन्न कारागारबाट फरार भएका कैदीहरुको खोजी कार्य तिव्र बनाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया