दशैँ, तिहार लगायतका चाडपर्वमा सवारी आवागमन सहज बनाउन समयमै सडक मर्मत गर्न ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
चाडपर्वमा सवारीको चाप अत्यधिक हुने भएकाले सदरमुकाम देखि पालिका जाने मुख्य मार्गहरू र विभिन्न स्थानबाट पालिकासम्म जोड्ने सडक तत्काल मर्मत गर्नुपर्ने आवश्यकता प्रजिअ मंग्रातीले औंल्याएका छन् । ग्रामीण भेगका धेरै सडक बिग्रिएका कारण आवागमनमा समस्या देखिएको र समयमै काम सुरु नगरिए यात्रुहरूलाई ठूलो असुविधा हुने प्रजिअ मंग्रातीको भनाई छ ।
साथै उनले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थित गर्न, दुर्घटना नियन्त्रणमा ध्यान दिन र सुरक्षात्मक उपायमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, सरकारी कार्यालय र सरोकारवालाबीचको बैठकले २२ बुँदे निर्णय गरेको थियो ।
उता, चम्पादेवी गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै सडक मर्मत सम्भार र स्तरोन्नतीको काम गरेको छ ।

प्रतिक्रिया