सवारी चेकजाँचमा कडाई

भिजन समाचार
24
Shares

दशैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै ओखलढुंगामा सवारी चेकजाँचमा कडाई गरिएको छ । जिल्लामा पछिल्ला दुई महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० सवारी साधन कारबाहीमा परेका छन् ।

करिब ६ लाख ८८ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ खनालका अनुसार साउन महिनामा ३७१ र भदौमा २६९ सवारी कारबाहीमा परेका छन् । जसबाट साउनमा मात्र चार लाख सात हजार र भदौमा दुई लाख ८१ हजार राजश्व संकलन भएको हो ।

कारबाहीमा पर्ने सवारीमध्ये सबैभन्दा धेरै जिप–कार र सबैभन्दा कम बस तथा ट्रक रहेका छन् । सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र मापसे गर्नेहरू बढी कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

दशैँ, तिहार र छठपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनिकरण र सुरक्षालाई मध्यनजर गर्दै चेकजाँचलाई अझ कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । साथै यात्रुलाई सहज बनाउन ओखलढुंगा सदरमुकामको सिद्धिचरण नगरपालिका–११ को रमाइलो डाँडा र मानेभञ्ज्याङ–७ को हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरिएको छ ।