सेवा प्रवाहलाई थप प्रभावकारी, जवाफदेही र पारदर्शी बनाउन अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस) ले व्यवस्थित रूपमा गुनासो सुन्ने प्रणाली सुरु गरेको छ ।
शुक्रबार युएनएफपीएको आर्थिक सहयोगमा सिएमसी नेपालले, परिवर्तनशील महिला सामुदायिक संस्थाद्वारा सञ्चालित सुरक्षित आवास गृहको संयोजनमा गुनासो सुनुवाई तथा व्यवस्थापन निर्देशिकाबारे जिल्लाका सञ्चारकर्मी तथा सुरक्षित आवासका कर्मचारीहरुसँग छलफल गरिएको हो ।

कार्यक्रममा युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले निर्देशिकाको मस्यौदाबारे जानकारी दिँदै अबदेखि अभिलेखसहित व्यवस्थित गुनासो सुनुवाई र व्यवस्थापन हुने बताइन् । उनका अनुसार गुनासो राख्नका लागि गुनासो पेटिका, प्रत्यक्ष भेटघाट, फोन सम्पर्क, इमेल, सामाजिक सञ्जाल तथा आवश्यक परे अनलाइनमार्फत सुविधा उपलब्ध हुनेछ ।
त्यस्तै, सिएमसी नेपाल कोशी प्रदेशका मनोसामाजिक संयोजक निशा दाहालले गुनासो सुनुवाई संयन्त्रले सेवालाई अझ प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन मद्दत गर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि सेफ हाउस व्यवस्थापन समिति संयोजक तथा सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले गुनासो सुनुवाई संयन्त्र आफैँमा सकारात्मक पहल भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।

छलफलमा सहभागी सञ्चारकर्मीहरूले गुनासो व्यवस्थापन प्रणालीबारे जिज्ञासा राख्दै आवश्यक सुझाव पनि दिएका थिए । गुनासो व्यवस्थापन प्रणालीमार्फत सेवामा देखिएका कमजोरी सच्याउन, सेवाग्राहीका सुझावलाई कार्यान्वयनमा ल्याउन र पारदर्शिता कायम गर्न सकिने परिवर्तनशील महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले बताइन् । शुक्रबारबाट गुनासो सुनुवाईको व्यवस्थित थालनी स्वरुप गुनासो पेटिका राखिएको छ ।

प्रतिक्रिया