जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले चाडपर्वमा यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरस्थित प्रहरी चौकीमा उक्त कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वका समयमा यात्रुहरूले विभिन्न समस्या भोग्न सक्ने भएकाले तत्काल सहयोग पु¥याउन यो व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । केसीका अनुसार चाडपर्वमा बढ्ने सवारी चाप र यात्रुमा हुने ठगी, असुविधा तथा दुव्र्यवहारलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाको मुख्य प्रवेश मार्गमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्षमार्फत यात्रुले सवारीमा तोकिएको भन्दा बढी भाडा असुल भएमा, क्षमता भन्दा बढी यात्रु चढाइएमा, टिकट बुकिङ भएर पनि सवारी छुटेमा, यात्रा क्रममा सामान हराएमा वा चोरी–लुटपाट भएमा तत्काल जानकारी गराउन सक्नेछन् । साथै, महिलामाथि यौनजन्य दुव्र्यवहार वा यात्रुको प्रति दुव्र्यवहार भएमा पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
यात्रु सहायता कक्षलाई प्रभावकारी बनाउन जिल्ला बाहिरबाट भित्रिने तथा बाहिरिने सवारी साधनमा विशेष चेकजाँच गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । सँगै सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा पनि सहायता कक्ष सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया