जिल्ला अदालत ओखलढुंगामा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनाको अवधिमा ६३ ओटा नयाँ मुद्दा दर्ता भएका छन् । अदालतका नायब सुब्बा प्रेम बहादुर राईका अनुसार दर्ता भएका मुद्दामध्ये ४९ ओटा दुनियाँवादी देवानी तथा १४ ओटा सरकारवादी फौजदारी मुद्दा रहेका छन् ।
सबैभन्दा बढी दर्ता भएका देवानी मुद्दामध्ये सम्बन्ध विच्छेदका २५ ओटा रहेका छन् । त्यस्तै अंश तथा मानाचामल सम्बन्धी ७, राजीनामा लिखत बदरका ६ लगायत अन्य मुद्दा पनि दर्ता भएका छन् ।
फौजदारी मुद्दामा भने जबरजस्ती करणी र उद्योगका ८, बाल यौन दुरुपयोगका २, दोहोरो नागरिकता सम्बन्धी १, कुटपिटका १, आत्महत्या दुरुत्साहन १ र नकबजनी चोरीसम्बन्धी १ मुद्दा दर्ता भएका अदालतले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरेका १५२ मुद्दासहित हालसम्म जिल्ला अदालतमा २१५ मुद्दा रहेको र तीमध्ये १५ मुद्दा फैसला भई २०० मुद्दा अझै चालु अवस्थामा रहेको अदालतले जानकारी दिएको छ ।

प्रतिक्रिया