जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै कडा सुरक्षा निगरानीसहित २२ बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्लामा शान्ति, सुव्यवस्था र उपभोक्ता हित कायम गर्न विभिन्न व्यवस्था गर्ने निर्णय गरेको हो ।
बैठकले मेला महोत्सव, पूजा, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू शान्त र सभ्य ढंगले सञ्चालन गर्न आग्रह गर्दै, चाडपर्वमा खलल पुर्याउने वा झैझगडा गर्ने गतिविधि तत्कालै नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
गस्ती र पट्रोलिङ बढाएर अपराधजन्य क्रियाकलाप रोकथाम गर्ने, बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने, म्याद गुज्रिएका वा लेबलविहीन सामान बिक्रीमा रोक लगाउने, मूल्यसूची अनिवार्य राख्ने लगायतका व्यवस्था गर्न उद्योगी व्यवसायीलाई आदेश दिइएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सहजै उपलब्ध गराउने, एटिएममा पर्याप्त रकम राख्ने, पेट्रोलियम पदार्थ अभाव नहुने व्यवस्था गर्ने र यात्रु चापलाई लक्षित गरी यातायात प्रणालीमा विशेष ध्यान दिने निर्णय गरिएको प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
सवारी साधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, तोकिएको भाडाभन्दा बढी लिन नपाइने, यात्रुको अभिलेख राख्ने र टिकट अनिवार्य दिने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै, मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउने, बिना हेल्मेट मोटरसाइकल चलाउने र क्षमताभन्दा बढी यात्रु ओसार्ने कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीले पाउनेछ ।
नेपाल विद्युत प्राधिकरणलाई २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्न, टेलिकमलाई इन्टरनेट तथा फोन सेवा अवरुद्ध नहुने व्यवस्था मिलाउन र होटल–रेस्टुरेन्टहरूले बास बस्ने व्यक्तिको विवरण राख्न निर्देशन दिइएको छ ।
सार्वजनिक सडकमा निर्माण सामग्री थुपारेर अवरोध नगर्न चेतावनी दिइएको छ भने आतिसबाजी, पटाका र अन्य विस्फोटक पदार्थको अवैध कारोबार रोक्न, सरकारी सवारी साधन दुरुपयोग नगर्न र अत्यावश्यक सेवाप्रदाता निकायले बिदामा पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्णय गरिएको छ ।

प्रतिक्रिया