उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले अंग्रेजी र मातृभाषामा परामर्श सेवा सुरु गरेको छ । अदालतले चालु आर्थिक वर्षको भदौ ३० गतेदेखि नेपालीसँगै अंग्रेजी, राई र तामाङ भाषामा एक घण्टे परामर्श सेवा उपलब्ध गराउन थालेको हो ।
अदालतका रजिष्ट्रार बिष्णु पाण्डेका अनुसार मुद्दाको प्रक्रिया, विवरण, चरण, फैसला र कार्यान्वयनको अवस्थाबारे अब सेवाग्राहीले आफ्नै मातृभाषामा सोधपुछ गर्न र जानकारी पाउन सक्नेछन् । “सेवाग्राहीलाई सहज सेवा प्रवाह, मातृभाषाको सम्मान र अंग्रेजीबाट समेत जानकारी लिन चाहनेलाई सुविधा पु–याउन यो सेवा सुरु गरिएको हो,” उनले बताए ।
उनका अनुसार मेलमिलापका फाइदा सम्बन्धी कानुनी जानकारी तथा नागरिक बडापत्र सार्वजनिक गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन पनि यो पहल गरिएको हो । यसअघि अदालतमा नेपाली भाषामा मात्र परामर्श दिने प्रचलन रहेकोमा अब सेवाग्राहीले आवश्यकताअनुसार अंग्रेजी, तामाङ वा राई भाषामा समेत कानुनी जानकारी पाउने भएका छन् । जिल्लाका धेरै राई भाषा मध्ये बाहिङलाई प्रयोगमा ल्याइएको छ ।
अदालतका अनुसार यो सेवाले विशेषगरी ग्रामीण भेगबाट आउने न्याय माग्ने सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । भाषागत कठिनाइका कारण धेरै नागरिक कानुनी प्रक्रियामा समस्या भोग्न बाध्य भएको भन्दै अबको प्रणालीले ती चुनौती कम गर्ने अदालतले जनाएको छ ।

प्रतिक्रिया