सूचना–प्रविधिको तीव्र विकाससँगै पत्राचार घट्दै गए पनि ओखलढुंगामा हुलाक सेवाको महत्व अझै कायम छ । जिल्लामा ३२ वटा अतिरिक्त हुलाक, सात वटा पालिका हुलाक कार्यालय र सदरमुकाम तथा रुम्जाटारमा एक–एक काउन्टरमार्फत सेवा निरन्तर जारी छ ।
जिल्ला हुलाक कार्यालयका खरिदार डिकधन कुलुङका अनुसार व्यक्तिगत चिठ्ठी नगन्य भए पनि कार्यालय र वित्तीय संस्थाका चिठ्ठीपत्र नियमित आउने गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ७७८ रजिष्टरी पत्र, ५४ साधारण पत्र, १५ पत्रपत्रिका, नौ पुलिन्दा र दुई बुक आदान–प्रदान भएका छन् ।
हुलाक कार्यालय मार्फत पत्रकारको प्रेस कार्ड वितरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी, एफएम रेडियो लाइसेन्स नवीकरण, पत्रपत्रिका दर्ता, हुलाक टिकट आपूर्ति र सरकारी कार्यालयका सूचना अधिकारीहरुको विवरण अभिलेख राख्ने काम भइरहेको छ ।
कार्यालयका अनुसार डिजिटल युगले चिठ्ठी सन्देश घटाए पनि सरकारी प्रक्रिया, सञ्चार माध्यम नियमन र अभिलेखिकरणमा हुलाक सेवा अझै अपरिहार्य बनेको छ ।

प्रतिक्रिया