ओखलढुंगामा भदौ ३० देखि सुपथ मूल्य पसल सञ्चालन

भिजन समाचार
74
Shares

आम उपभोक्ताको हितलाई लक्षित गरी ओखलढुंगामा भदौ ३० गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगाका शाखा प्रमुख बिना घिमिरेका अनुसार सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराइनेछ ।

पसलमार्फत विशेष गरी चामलमा छुट दिइने भएको छ । अहिले बजार भाउ प्रति केजी ९० रुपैयाँ रहेको स्टिम जिरा मसिनो चामल र फोटिफाईट स्टिम जिरा मसिनो चामल पाँच रुपैयाँ छुटसहित ८५ रुपैयाँमा बिक्री हुनेछन् ।

यस्तै बजार भाउ ६४ रुपैयाँ रहेको अरुवा सोना मन्सुली चामल र फोटिफाईट अरुवा सोना मन्सुली चामल पनि पाँच रुपैयाँ छुट दिइएर प्रति केजी ५९ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी बजार भाउ १०० रुपैयाँ रहेको चिनीलाई पाँच रुपैयाँ छुटसहित ९५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ ।