ओखलढुंगामा नेपाली सेनाद्वारा विद्यालयमा विपद् उद्धारसम्बन्धी नमुना अभ्यास

भिजन समाचार
2
Shares

ओखलढुंगामा नेपाली सेनाले विपद् उद्धारसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आयोजना र नेपाली सेना दुर्गा बक्स गण ओखलढुंगाको समन्वयमा नमुना अभ्यास प्रदर्शन गरिएको हो ।

विपदको समयमा उद्धार तथा प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन सिद्धिचरण नगरपालिका–१२ स्थित सगरमाथा जनता माध्यमिक विद्यालयमा तीन प्रकारका नमुना अभ्यास प्रस्तुत गरिएको थियो ।

पहिलो अभ्यासमा भिर वा चट्टानमा अड्किएका व्यक्तिलाई डोरीमार्फत उद्धार गर्ने ‘टेन्डोन’ अभ्यास गरिएको थियो भने दोस्रोमा गहिरो गल्छी वा खोँचमा फसेका व्यक्तिलाई निकाल्ने ‘हाइलाइन’ उद्धार अभ्यास देखाइएको थियो । तेस्रो अभ्यासमा भने भल, बाढी वा खोलामा फसेकाको उद्धार गर्ने ‘रिभर रेस्क्यु’ प्राविधिक अभ्यास गरिएको थियो ।

साथै खाना पकाउने ग्यास चहावटबाट लागेको समान्य आगो नियन्त्रण गर्ने उपाय, विपदका बेला प्रयोग हुने उपकरण र सामग्रीबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो ।

कार्यक्रम अवलोकनपछि प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले यस्तो अभ्यासले विपद् बेलामा सेना–प्रहरीलाई आत्मविश्वासी बनाउन सहयोग पुग्ने बताएका छन् । उनले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रम स्थानीय तह र सरोकारवालाले पनि गर्न आवश्यक रहेको बताए ।

दुर्गा बक्स गणका गणपति तथा प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले विपद् समयमा खटिने जनशक्तिलाई पूर्वतयारीका रूपमा अभ्यस्त बनाउनु र विद्यार्थी तथा समुदायस्तरमा सचेतना बढाउनु रहेको बताए ।

सो अवसरमा सेनाले विद्यालयका विद्यार्थीलाई विपद् व्यवस्थापन र उद्धारसम्बन्धी जानकारीमूलक कक्षा समेत सञ्चालन गरिएको थियो ।