योजना तथा कार्यक्रम दोहोरोपना हुन नदिन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, ओखलढुंगाले सरोकारवाला निकायसँग छलफल गरेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गर्न गरिएको कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरीय निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले विशेषगरी ओखलढुंगा र सोलुखुम्बुमा सञ्चालित बाख्रा, आलु, स्याउ–ओखर, किवी, सुन्तला र अदुवा–बेसार गरी ६ वटा जोन क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि सहयोग तथा उद्यमशीलता कार्यक्रमलाई अनुदानमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहका कृषि तथा पशु विकास शाखाबाट सञ्चालन हुने गतिविधि दोहोरिन नदिन आवश्यक समन्वय गर्ने सहमति समेत गरिएको परियोजना निमित्त प्रमुख कृषि अधिकृत हेम बहादुर आले मगरले बताए ।
यसैगरी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आगामी वर्षदेखि परिमार्जित हुने भएकाले कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारबाट प्राप्त परियोजना दस्तावेजमा सुझाव संकलन गरी पठाउने निर्णय गरिएको छ ।
कार्यक्रमको पहिलो चरण चालु आर्थिक वर्ष २०८२-८३ मै समाप्त हुने भएकाले परियोजना आरम्भदेखि हालसम्म सञ्चालन भएका ब्लक तथा पकेट विकास कार्यक्रमहरूको अद्यावधिक विवरण संकलन गरी ओखलढुंगा कार्यान्वयन एकाइमा पठाउन समेत निर्णय भएको आलेले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति ओखलढुंगा प्रमुख टेकराज भट्टराई लगायत सहभागीले परियोजनाका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया