अकबरे खुर्सानीमा रोग–किराको प्रकोप


ओखलढुंगामा अकबरे खुर्सानीमा रोग–किराको महामारी फैलिँदा किसान चिन्तित भएका छन् । विशेषगरी मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका किसानले व्यवसायिक तरिकाले लगाएको अकबरे खुर्सानीमा ‘एन्थ्राक्नोज’ रोग र फल कुहाउने किराको संक्रमण देखिएको हो ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा ४६ हेक्टर क्षेत्रमा करिब २३० मेट्रिक टन अकबरे खुर्सानी उत्पादन हुने अनुमान भए पनि यस वर्ष रोग–किराका कारण उत्पादनमा ३० प्रतिशतसम्म गिरावट आउनेछ ।

२०७३ सालदेखि अकबरे खुर्सानी खेती गर्दै आएका मोलुङ गाउँपालिका–८ खरिडाँडाका गोविन्द राईले यस वर्ष मात्र २५ रोपनी क्षेत्रमा खेती गरेका थिए । मल, बिरुवा, ड्याङ र प्लास्टिकसहित करिब १० लाख रुपैयाँ लगानी गरेका राईको अधिकांश बाली रोगका कारण नष्ट भएको छ । “केही मात्र बचाएको छु, बाँकी सबै रोगले मारेको छ,” उनले भने ।

राईसँगै अन्य तीन किसानले पनि ठूलो लगानीसहित खुर्सानी खेती गरेका थिए तर रोग–किराले सबैमा क्षति पु¥याएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाली बीमा गरिएका किसानलाई ९० प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध हुने व्यवस्था भए पनि अधिकांश किसानले बीमा नगरेका कारण राहत पाउन नसक्ने अवस्था रहेकाे जनाएकाे छ । तर, खुर्सानीमा लागेको रोग किराको प्रकोप समाधान बारे कार्यालयले बालेको छैन ।