प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेख बहादुर मंग्रातीले जिल्लाका सरकारी कार्यालयका कर्मचारीलाई मुस्कानसहित गुनासोरहित सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
२२औं निजामती सेवा दिवसको अवसरमा सदरमुकाममा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहज र प्रविधिमैत्री सेवा प्रवाहको आवश्यकता औंल्याउँदै जनमैत्री प्रशासन निर्माणमा जोड दिएका हुन् ।
उनका अनुसार, सेवाग्राहीको अपेक्षा र भावनालाई बुझेर कार्यसम्पादन गर्दा मात्र पेसाप्रतिको सम्मान र नागरिकको विश्वास दुवै बढ्नेछ । “व्यवहार र अचारमा सुधार ल्याएर जनताले चाहेको सेवा दिनु कर्मचारीको जिम्मेवारी हो,” प्रजिअ मंग्रातीले भने ।
सिद्धिचरण नगरपालिका मेयर तेजन खनालले पछिल्लो समय क्षमतावान र योग्य युवाहरू लोकसेवा तयारीको सट्टा विदेश पलायन हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले उत्कृष्ट कार्यसम्पादन र नयाँ ढंगको सेवा प्रवाहमार्फत नागरिकको रुचि अनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य सुजन घिमिरेले सहज, व्यवस्थित, प्रविधिमैत्री र गुनासोरहित सेवा प्रवाहका लागि सबै कर्मचारी एकताबद्ध हुनुपर्ने बताए ।
दिवसको अवसरमा प्रभातफेरी, कार्यालय सरसफाइ, शुभकामना आदान–प्रदान, कारागारमा वाटर डिस्पेन्सर वितरण जस्ता कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया