हराएको मोबाइल फेला पार्न मुस्किल

भिजन समाचार
26
Shares

ओखलढुंगामा हराएका मोबाइल फोन फेला पार्ने काम प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल हराएकोबारे आठवटा निवेदन दर्ता भए पनि हालसम्म एक थान मात्र फेला परेको छ । बाँकी सातवटा मोबाइल अझै खोजतलासीमै रहेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार हराएका मोबाइल खोजीमा मुख्य चुनौती ‘आइएमईआइ नम्बर’ सम्बन्धी हो । प्राविधिक उपकरण प्रयोग गरेर मोबाइल ट्र्याक गर्न आइएमईआइ नम्बर आवश्यक पर्छ, तर अधिकांश पीडितले सामान्य विवरण मात्र दिने गरेको कारण खोजी प्रक्रिया कठिन हुने गरेको छ ।

सूचना अधिकारी कार्कीका अनुसार हराएका मोबाइल फेला पार्न प्रहरीले साइबर युनिटसँग निरन्तर समन्वय गरिरहेको भए पनि पर्याप्त विवरण नहुँदा तत्काल पत्ता लगाउन समस्या भएको हो ।

मोबाइल हराउने घटनामा वर्षेनी वृद्धि भइरहेको छ । विद्यार्थी, कर्मचारीदेखि विभिन्न उमेर समूहका मानिसहरू मोबाइल हराएको भन्दै उजुरी दिने गरेका छन् । बस–यात्रा, बजारको भीडभाड, सार्वजनिक स्थानमा असावधानी, होटल तथा चोकमा मोबाइल छाडेर जानु प्रमुख कारण रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणलाई मोबाइल सुरक्षित राख्न, सधैं पासवर्ड प्रयोग गर्न, मोबाइल खरिद गर्दा नै ‘आइएमईआइ नम्बर’ सुरक्षित राख्न र हराएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।