ओखलढुंगामा कारागारलाई वाटर डिस्पेन्सर हस्तान्तरण

भिजन समाचार
52
Shares

निजामती सेवा दिवसको अवसरमा ओखलढुंगा कारागारलाई दुई वटा वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा निजामती सेवा दिवस मूल समारोह समितिले कैदीबन्दीहरूलाई शुद्ध र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न, स्वास्थ्य जोखिम घटाउन र पानीजन्य रोग तथा महामारीको सम्भावना न्यूनिकरण गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार सहयोगको माध्यमबाट कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

कारागारमा सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले कारागारलाई मात्र सजायको स्थान नभई सुधार गृहका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले यस प्रकारका रचनात्मक सहयोगले सुधारको सन्देश फैलाउने बताए ।

दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ गरिएको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।