ओखलढुंगाका शिक्षकले १२ वर्षदेखि स्थानीय भत्ता पाएनन्

एआइकाे मद्दतले बनाइएकाे तस्वीर ।

ओखलढुंगाका शिक्षकहरूले संघीय सरकारले तोकेको नियमअनुसार पाउनुपर्ने ‘स्थानीय भत्ता’ १२ वर्षदेखि नपाएको गुनासो गरेका छन् । तत्कालीन अर्थ मन्त्रालयको निर्णयअनुसार विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन पुस्तिका २०७१/०७२ ले तोकेको व्यवस्था अनुसार ‘ग’ वर्गमा पर्ने ओखलढुंगाका शिक्षकले तह र क्षेत्रअनुसार स्थानीय भत्ता पाउनुपर्ने कानुनी व्यवस्था भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

हिमालय माध्यमिक विद्यालयका शिक्षक दिप नारायण दाहालका अनुसार “अन्य क्षेत्रका कर्मचारीले स्थानीय भत्ता पाउँदा हामी शिक्षकले १२ वर्ष बितिसक्दा पनि नपाउनु दुःखद पक्ष हो ।”

शिक्षक सङ्घ ओखलढुंगाका अध्यक्ष रमेश कुमार अधिकारीले यो सुविधा तत्काल उपलब्ध गराउन स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र संघीय सरकारलाई दबाव दिने बताए । “पहिले माग गर्ने, ध्यानाकर्षण गराउने, सुन्ने पक्ष नरहेमा कानुनी सहारा लिएर भए पनि भत्ता लिन बाध्य हुनेछौं ।” अध्यक्ष अधिकारीले भने ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन पुस्तिका २०७१/०७२ को दफा ५.४ अनुसार, भौगोलिक कठिनाइका आधारमा वर्गीकरण गरिएका जिल्लाका शिक्षकलाई स्थानीय तहमार्फत ‘स्थानीय भत्ता’ दिनुपर्ने व्यवस्था छ ।

सिद्धिचरण नगरपालिका शिक्षा शाखा प्रमुख फणिन्द्र बहादुर कटवालका अनुसार “संघीय सरकारले पठाएपछि मात्र दिने प्रावधान भए पनि हालसम्म सम्बन्धित निकायबाट बजेट आएको छैन ।”

शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले पनि दशैभरका कुनै पनि विद्यालयका शिक्षकले स्थानीय भत्ता नपाएको पुष्टि गर्दै, मन्त्रालयमा जानकारी गराइसकिएको र बजेट निकासी भएलगत्तै सुविधा उपलब्ध गराइने बताएका छन् ।