ओखलढुंगाका शिक्षक आन्दोलित

भिजन समाचार
90
Shares
आन्दाेलित मानेभञ्ज्याङका शिक्षकहरु ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ओखलढुंगाको सामुदायिक विद्यालयका शिक्षकले फेरि आन्दोलन सुरु गरेका छन् । शुक्रबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत जिल्लाका सबै आठवटै पालिका परिसरमा दुई घण्टा धर्ना दिइएका छन् ।

स्थानीय तहका प्रमुखमार्फत सरकारले ज्ञापनपत्र बुझाइएको शिक्षक संघ ओखलढुंगाका अध्यक्ष रमेश कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार हाल शान्तिपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ भने आगामी भाद्र १५ गते शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यसपछि केन्द्रको सर्कुलर अनुसार थप आन्दोलनका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

हालसम्म ओखलढुंगामा शिक्षक महासंघ गठन नभए पनि विभिन्न शिक्षक संगठनहरूले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । महासंघ र सरकारबीच विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक आन्दोलित भएका हुन् ।

उनीहरूको मुख्य मागमा अस्थायी शिक्षक पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने रहेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था गरिएको छ । त्यसैगरी विद्यालय कर्मचारीको पद र वेतन, बालकक्षा शिक्षकको सेवा–सुविधा सुनिश्चित नगरेको र अव्यावहारिक सरुवा प्रणाली ल्याइएको भन्दै शिक्षक संगठनहरू विरोधमा उत्रिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ गते पारित भएको हो ।